महुवन कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगको चासो, दोषीमाथि कडा कारबाही गर्न माग


eShilalekh

२ चैत्र २०८२, सोमबार १३:३९

वीरगन्जः पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा दलित समुदायमाथि भएको कुटपिटको घटनाप्रति राष्ट्रिय दलित आयोगले गम्भीर चासो व्यक्त गरेको छ ।

फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा केही गैरदलित व्यक्तिहरूको समूहले दलित परिवारमाथि गरेको आक्रमणको सत्यतथ्य बुझ्न आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा एक टोली आइतबार घटनास्थल पुगेको हो । टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी घटनाको विस्तृत विवरण संकलन गरेको छ ।

उक्त हिंसात्मक घटनामा स्थानीय मालती देवी राम र उनका सात वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका छन् ।आक्रमणबाट बालक बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवीको टाउकोमा गम्भीर चोट लागेका कारण तीन वटा टाँका लगाउनुपरेको छ ।

आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा गरिने कुनै पनि प्रकारको कुटपिट र विभेद कानुनी अपराध भएको स्पष्ट पार्दै यस्ता अमानवीय कार्यलाई कुनै पनि हालतमा सहन नसकिने बताए । उहाँले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कडा कानुनी कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

अनुगमनका क्रममा आयोगको टोलीले सखुवाप्रसौनी ५ का वडाध्यक्ष असेश्वर प्रसाद यादवसँग पनि छलफल गरी स्थानीय वस्तुस्थितिको बारेमा जानकारी लिएको थियो ।

उक्त भेटघाटमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवाहरू मानदेव हजरा, सुरेन्द्र पासवान लगायतको सहभागिता रहेको थियो । आयोगले स्थानीय प्रशासनलाई शान्ति सुरक्षा कायम गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्