वीरगन्जमा ४५ दिने सिलाइ–कटाइ तालिम सुरु


eShilalekh

२ चैत्र २०८२, सोमबार १८:१५

वीरगन्जः ‘सीप सिकौं, रोजगार गरौं’ भन्ने मूल नाराका साथ वीरगन्जमा ४५ दिने (९० घण्टे) सिलाइ–कटाइ तालिम सुरु भएको छ । वीरगन्ज महानगरपालिका २१ को आर्थिक सहयोग तथा सरिता सीप कला केन्द्रको आयोजनामा तालिम सुरु भएको हो ।

वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रौनियारले वर्तमान समयमा महिला तथा युवतीहरूका लागि घरायसी कामकाजका साथै आयआर्जनमा जोडिनु अपरिहार्य रहेको बताए ।

उहाँले सीप नै आत्मनिर्भर बन्ने मुख्य आधार भएको उल्लेख गर्दै सहभागीहरूलाई तालिम अवधिभर नियमित उपस्थित भएर पूर्ण रूपमा सीप हासिल गर्न आग्रह समेत गरेका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै वडा सचिव राजीव गिरीले सहभागीहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले यो तालिमको आयोजना गरिएको स्पष्ट पारे ।

उहाँले तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई प्रेरित गरेका थिए ।

सरिता गुप्ताको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा प्रशिक्षक माला रौनियार, कृष्ण कुशवाहा, राजन पटेल, कृष्ण दास, धर्मशिला कुशवाहा, बिन्दु श्रेष्ठ, रामाधेश कुशवाहा, र बंशीधर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार यस तालिममा वडा नम्बर २१ का करिब ४० जना युवती तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्