पर्सामा पूर्ण शारीरिक अपाङ्गता भएका चार जनालाई ह्विलचेयर वितरण

सिमराः पर्साका विभिन्न गाउँपालिकामा पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूमध्ये चार जनालाई घरदैलोमै पुगेर ह्विलचेयर वितरण गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र वीरगन्ज हेल्थ केयर अस्पतालको समन्वय तथा सहयोगमा अभियान सञ्चालन गरिएको हो ।
हिँडडुल गर्न असमर्थ व्यक्तिहरूलाई सहज जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित यस अभियान अन्तर्गत पर्साका चार जना व्यक्तिहरूलाई ह्विलचेयर प्रदान गरिएको आयोजकले जनाएको छ ।
ह्विलचेयर प्राप्त गर्नेहरूमा जिराभवानी गाउँपालिका १ का ६२ वर्षीय प्रेम चौधरी र ३५ वर्षीय विनोद दास रहेका छन् । यसैगरी धोविनी गाउँपालिका ५ का ४५ वर्षीय मनबोध चौधरी तथा बिन्दवासिनी गाउँपालिका ३ झौवाका १० वर्षीय बालक आलोक कुमार रामलाई घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरिएको हो ।
उक्त वितरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसी, समाजसेवी जयप्रकाश थारु, मानव सेवा आश्रमका प्रतिनिधिहरू तथा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई दैनिक आवतजावतमा सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको छ ।






