आशिका तामाङको पोष्टमा जीतपुरसिमराका नगर प्रमुख पौडेलको व्यङ्ग्य, ‘क्षेत्राधिकारमा तिखो सवाल’


eShilalekh

३ चैत्र २०८२, मंगलवार १७:०२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले धादिङ क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङप्रति व्यङग्य गर्दै जनप्रतिनिधिको क्षेत्राधिकारको विषय उठान गरेका छन् ।

तामाङले मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सडक पूर्वाधार सेवा शुल्कवापत दस्तुर लिएको रसिदको फोटो आफ्नो फेसबुकमा राखेर ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ?? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नुपर्ने छैन, मैले सम्बन्धित निकायमा निर्देशन दिएको छु । कसैले उठाए कारवाहीको दायरमा ल्याउने जानकारी गराउँछु’ भन्दै लेखेकी थिईन् ।

उक्त पोष्टमा प्रतिक्रिया जनाउँदै नगर प्रमुख पौडेलले व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । पौडेलले उक्त पोष्ट शेयर गर्दै लेखेका छन् ‘स्थानीय तह खारेज गरिदिनु भएको हो माननीयजी हजुरको मौखिक आदेशबाट’ । पौडेलको यो व्यङ्ग्यले जनप्रतिनिधिबीचको क्षेत्राधिकारमा तिखो सवाल गरेको छ ।

स्थानीय तहको स्वायत्त अधिकार र कानुनी व्यवस्थातर्फ संकेत गर्दै नगर प्रमुख पौडेलले सांसदको मौखिक निर्देशनबाट स्थानीय तहको कर प्रणाली खारेज गर्न खोजिएको भन्दै प्रश्न तेर्साउन खोजेका छन् । पौडेलले स्थानीय सरकार सञ्चालन ऐन र संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर उठाइने करलाई रोक्न खोज्नु गलत भएको आशय व्यक्त गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन तथा संविधानले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र विभिन्न सेवा शुल्क तथा दस्तुर संकलन र सोही अनुसार कानुन निर्माण गर्न अधिकार दिएको छ । कानुनले प्रत्यायोजन गरेको अधिकारलाई टेकेर स्थानीय सरकारले कानुन निर्माण गर्दै त्यसको कार्यान्यवन गरिरहेका छन् ।

तर सांसद तामाङले भने जनतामाथि आर्थिक भार परेको भन्दै उक्त शुल्क उठाउनु गलत भएको उल्लेख गरेकी छिन् । तामाङले फेसबुकमा राखेको पोष्टमा मिश्रित प्रतिक्रिया आईरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले तामाङको कदमलाई जनमुखी भनेर समर्थन गरेका छन् भने कतिपयले कानुनी प्रावधानअनुसार स्थानीय तहको अधिकार सम्मान गरिनुपर्ने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्