धनुषामा अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा


eShilalekh

४ चैत्र २०८२, बुधबार १६:३५

धनुषाः धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ मा एक २५ वर्षीया युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । पाँच वर्षअघि मुकेश धनखोटी यादवसँग प्रेम विवाह गरेकी विभाकुमारी महतो मङ्गलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

मृतकका दाजु मनिषकुमार महतोका अनुसार विवाह भएको लामो समयसम्म सन्तान नभएको निहुँमा विभामाथि घरपरिवारबाटै शारीरिक तथा मानसिक यातना दिइँदै आएको थियो । घटनापछि मृतकको शरीरमा नीलडाम देखिएकाले यो आत्महत्या नभई हत्या भएको दाबी माइती पक्षले गरेको छ ।

सोही दाबी र माइती पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले श्रीमान् मुकेशलाई आत्महत्या दुरुत्साहनको आरोपमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि अन्य तथ्य खुल्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्