पर्सामा आमाको नामबाट हालसम्म ३३ नागरिकता जारी


eShilalekh

५ चैत्र २०८२, बिहीबार १७:५६

वीरगन्जः पर्सामा आमाको नामबाट नागरिकता वितरण कार्यले तीव्रता पाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार गत फागुन ५ गतेदेखि हालसम्म ३३ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरिसकेका छन् ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएसँगै बुबाको पहिचान नभएका व्यक्तिहरूलाई आमाको नामबाट नागरिकता दिने कानुनी बाटो खुलेको हो ।

यस प्रक्रियाबारे जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नियमावलीको तोकिएको मापदण्ड पूरा गर्ने नागरिकहरूलाई प्रशासनले सहज रूपमा नागरिकता प्रदान गरिरहेको बताए ।

उनका अनुसार यो नयाँ व्यवस्थाले लामो समयदेखि नागरिकताविहीन भएर राज्यबाट प्राप्त हुने सेवा सुविधा र अधिकारबाट वञ्चित रहेका व्यक्तिहरूलाई ठूलो राहत मिलेको छ ।

नागरिकता प्राप्त गरेपछि सेवाग्राहीहरूमा उत्साह देखिएको छ । वीरगन्ज ११ का विजयकुमार साहले नागरिकता नहुँदा वर्षौँसम्म प्रशासनिक झन्झट बेहोर्नुपरेको र धेरै ठाउँमा भौतारिनुपरेको अनुभव सुनाउँदै अहिले आमाको नामबाट सहजै नागरिकता पाउँदा खुसी व्यक्त गरे ।

यसैगरी वीरगन्ज १३ का जुबैर अन्सारीले पनि नागरिकताविहीन हुनुको पीडा निकै कष्टकर रहेको स्मरण गर्दै लामो संघर्षपछि नागरिकता पाउँदा आफूलाई ठूलो राहत महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्