परीक्षा रद्द भएपछि वीरगन्जमा विद्यार्थी आन्दोलितः घण्टाघरमा टायर बालेर प्रदर्शन

वीरगन्जः वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।
आइतबारदेखि (आज) सञ्चालन हुने भनिएको परीक्षा कलेज प्रशासनले स्थगित गरेको सूचना जारी गरेलगत्तै परीक्षा दिन पुगेका विद्यार्थीहरू आक्रोशित बनेका हुन् ।
विद्यार्थीहरूले कलेजको मुख्यद्वार अगाडि धर्ना दिँदै क्याम्पस प्रमुख, प्रशासन र सञ्चालक समितिविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले परीक्षा निर्धारित समय तालिका अनुसार नै हुनुपर्ने र दैनिक शैक्षिक गतिविधिमा कुनै अवरोध हुन नहुने माग राखेका छन् ।
विद्यार्थीहरूका अनुसार कलेजको आन्तरिक व्यवस्थापन, कर्मचारी र सञ्चालक समितिबीचको आपसी विवादका कारण पठनपाठन र परीक्षा पटक–पटक प्रभावित हुँदै आएको छ । कलेज प्रशासनको आन्तरिक द्वन्द्वले आफ्नो भविष्यमाथि खेलबाड भइरहेको आरोप लगाउँदै विद्यार्थीहरूले कलेजको मूलद्वारबाट र्याली निकालेका थिए ।
उक्त र्याली वीरगन्जको मुख्य घण्टाघर चोकमा पुगेर चक्काजाम र टायर बालेर प्रदर्शनमा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि प्रहरी र विद्यार्थीबीच सामान्य तनाव सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
आन्दोलनरत विद्यार्थीहरूले विशेषगरी निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गरिरहेका छन् । यता कलेज प्रशासनले भने परीक्षा के–कस्ता कारणले स्थगित गरिएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन ।






