नागरिकता र राष्ट्रिय परिचयपत्र प्रणालीबीच अन्तरआबद्धता सुरु


eShilalekh

८ चैत्र २०८२, आईतवार १७:४४

सिमराः नेपाल सरकारले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच औपचारिक रूपमा अन्तरआबद्धता सुरु गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षण गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस नयाँ व्यवस्थाको शुभारम्भ भएको जानकारी दिए ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अब सेवाग्राहीले एउटै व्यक्तिगत विवरणका लागि फरक–फरक सरकारी निकायमा धाउनुपर्ने र छुट्टाछुट्टै फारम भर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

विशेषगरी राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने र बायोमेट्रिक (जैविक) पहिचानका लागि पटक–पटक इकाईहरूमा उपस्थित हुनुपर्ने झन्झट अब हटेको छ । गृहमन्त्री अर्यालका अनुसार, एकपटक प्रणालीमा प्रविष्ट भएको विवरणलाई दुवै निकायले साझा रूपमा प्रयोग गर्न सक्नेछन् । जसले गर्दा सेवा प्रवाह छिटो, छरितो र नागरिकमैत्री हुनेछ ।

हाल यो एकीकृत सेवा केही सीमित स्थानहरूबाट सुरु गरिएको भए तापनि सरकारले यसलाई छिट्टै देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूमा विस्तार गर्ने योजना बनाएको छ ।

डिजिटल नेपालको अवधारणालाई मूर्तरूप दिन यो एक महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने र यसले सरकारी अभिलेख प्रणालीलाई थप सुरक्षित र विश्वसनीय बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्