वीरगन्जमा महिलाका लागि डलकुसन तालिम सुरु

वीरगन्जः वीरगन्ज महानगरपालिका ९ मा महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ एक महिने डलकुसन (डल कुसन) उत्पादन तालिम सुरु भएको छ ।
नेपाल महिला विकास संघको आयोजना तथा वडा समिति ९ को सहयोगमा सञ्चालन गरिएको यस तालिमको एक विशेष समारोहबीच समुद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले महिला सशक्तिकरणका लागि सीप अनिवार्य रहेको कुरामा जोड दिए । महिलाहरूलाई केवल तालिममा मात्र सीमित नभई सिकेका सीपलाई व्यावसायिक रूपमा व्यवहारमा उतारेर आफ्नै खुट्टामा उभिन र आम्दानीको स्रोत सिर्जना गर्न सहभागीहरूलाई वडा अध्यक्ष गुप्ताले आग्रह गरे ।
कार्यक्रममा वडा सदस्यहरू नन्दकिशोर चौहान, लालबाबु गुप्ता, गीता मानन्धर र कुमारी सोनी पासवानका साथै समाजसेवी सतीश सिंह राजपूतको पनि उपस्थिति रहेको थियो ।
नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्रपछि सहभागी महिलाहरूलाई एक महिनासम्म व्यावसायिक रूपमा डलकुसन बनाउने विस्तृत प्रशिक्षण दिइनेछ । तालिमपश्चात् महिलाहरूले आफ्नै घरमा साना उद्योग सञ्चालन गरी स्वरोजगार बन्न सक्ने अपेक्षा आयोजकले लिएको छ ।






