वीरगन्जको एक लजमा भारतीय दम्पती मृत फेला

वीरगन्जः वीरगन्जको नयाँ बसपार्कस्थित भानु चोक नजिकै रहेको नवदुर्गा लजमा एक भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन् ।
भारतको पश्चिम बंगाल कोलकाताका अन्दाजी ३४ वर्षीय बपन पत्रा र उनकी करिब ३२ वर्षीया पत्नी लजको कोठाभित्रको एउटै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
होटल सञ्चालकका अनुसार उनीहरू गत चैत ४ गते बिहान लजमा आएका थिए र सोही दिन बजार घुमेर फर्किएका थिए ।आइतबार बिहान अबेरसम्म पनि कोठा नखुलेपछि र ढोका ढक्ढक्याउँदा कुनै प्रतिक्रिया नआएपछि होटल व्यवस्थापनले बिहान ११ बजेतिर प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले ढोका फोडेर भित्र प्रवेश गर्दा दुवै जना एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लजको रजिष्टरमा बपन पत्राको नाम मात्र उल्लेख गरिएको र महिलाको नाम समावेश नगरिएका कारण उनको स्पष्ट पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
उनीहरू कुन उद्देश्यले वीरगन्ज आएका थिए र आत्महत्याको कारण के थियो भन्ने विषयमा हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले दुवैको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ भने घटनाको थप वास्तविकता बुझ्न लज सञ्चालक र कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ ।






