हरि खेतान क्याम्पसको विवादमा तीन बुँदे सहमति, विद्यार्थी आन्दोलन स्थगित

वीरगन्जः वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीचको विवादका कारण उत्पन्न तनावपूर्ण स्थिति तीन बुँदे सहमतिपछि साम्य भएको छ ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको सरोकारवालाहरूको बैठकले ठोस निर्णय गरेसँगै विद्यार्थीहरूले आफ्नो आन्दोलन स्थगित गरेका हुन् ।
बैठकमा आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति र प्राध्यापकहरूको सहभागिता रहेको थियो । सहमति अनुसार क्याम्पसमा स्थगित गरिएका परीक्षा र पठनपाठन तत्काल सुचारु गरिनेछ । यसका साथै आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचार खर्च क्याम्पस प्रशासनले बेहोर्ने र विद्यार्थीका अन्य मागहरूका सम्बन्धमा सोमबार पुनः छलफल गर्ने निर्णय गरिएको छ ।
यसअघि आइतबार बिहान कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू सडकमा उत्रिएका थिए । निर्धारित परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई मुख्य गेटमै रोकिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
सो क्रममा आन्दोलित विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको थियो । जसमा एक विद्यार्थी घाइते भएका थिए भने प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो ।






