सिरहाका विभिन्न स्थानबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आठ जना पक्राउ

सिरहाः सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा मानव बेचबिखन aतथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । अवैध गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।
लहान नगरपालिका ८ का स्थानीय दिलीप साह र उनकी श्रीमती सुनिताले तीन जना महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको प्रहरीको दाबी छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैगरी लहान ३ अस्पताल चोकस्थित ‘अनलाइ होटल एन्ड लज’ मा होटल सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले सप्तरीका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर चार महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सात दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यसैगरी धनगढीमाई नगरपालिका ११ स्थित ‘खुश्बु होटल एन्ड लज’ मा होटल सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले सप्तरीको बलानबिहुलका ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर दुई महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरिएको छ ।
उनीहरूमाथि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘सांकेतिक नाम’ दिएर संरक्षण र कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।






