डुमरवाना–बडहर्वा सडकखण्डमा दुर्घटना, सेवानिवृत्त शिक्षकको मृत्यु

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट संग्रामपुर घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन् ।
डुमरवानाबाट प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाएर बडहर्वातर्फ जाँदै गरेका शर्मालाई सोही दिशाबाट गुडिरहेको ना७त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उक्त ट्याक्टरले ठक्कर दिँदा शर्माको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्र.०२–०३–००१ त ५६१५ नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको थियो ।
ठक्करबाट गम्भीर घाइते शर्माको उपचारका क्रममा मेडिसिटी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिए ।
शर्मा सेवानिवृत्त शिक्षक हुन् । शर्माले पथलैया, सिमरासहित जीतपुरसिमरा भित्रका विद्यालयमा लामो समय अध्यापन गरेका थिए ।





