रौतहटको बागमती नदीमा बेपत्ता भएका स्याङ्तानको शव फेला


eShilalekh

१० चैत्र २०८२, मंगलवार १४:१६

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ। चैत ७ गते शनिबार माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका ४ नयाँबस्तीका ४० वर्षीय कामीसिंह स्याङ्तानको शव मंगलबार फेला परेको हो।

स्याङ्तान बेपत्ता भए लगत्तै सुरक्षा निकायको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यालय कर्मैया र पौराईको संयुक्त टोलीले खोजी गरिरहेको थियो ।

सुरक्षाकर्मीको टोलीले डुङ्गाको प्रयोग गरी खोजी गर्ने क्रममा स्याङ्तानको शव फेला पारेको हो। फेला परेको शवलाई खोलाबाट बाहिर निकाली शल्यपरीक्षणका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ। शल्यपरीक्षणपश्चात शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्