कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरधाममा ‘जेन–जी’ को धर्ना

जनकपुरः जनकपुरधाममा मंगलबार जेन–जी मुभमेन्ट अलायन्सका सदस्यहरूले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् ।
जनक चोकमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्डसहित नाराबाजी गर्दै सरकारलाई दबाब दिएका हुन् । जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि गठित उक्त आयोगले प्रतिवेदन सरकारलाई बुझाइसके पनि हालसम्म सार्वजनिक नगरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै जेन–जी मुभमेन्ट अलायन्सकी धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले वर्तमान सरकारको मुख्य जिम्मेवारी नै निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नु रहेको बताइन् ।
उहाँले लामो समयसम्म प्रतिवेदन गोप्य राख्नु गलत भएको र सरकारले तत्काल प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा नल्याए आन्दोलनको कुनै औचित्य नरहने चेतावनी दिइन् ।
लामाका अनुसार प्रतिवेदन सार्वजनिक नभएसम्म देशभर शान्तिपूर्ण धर्ना र प्रदर्शनका कार्यक्रमहरू निरन्तर जारी रहनेछन् ।यसअघि पनि उक्त अलायन्सले काठमाडौंसहित मुलुकका विभिन्न प्रमुख सहरहरूमा माग राख्दै विरोध प्रदर्शन गर्दै आएको छ ।





