सिमरा कलेजको सातौं सभा सम्पन्न, शर्मा बनिन् अध्यक्ष


eShilalekh

१४ चैत्र २०८२, शनिबार २०:५८

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सिमरा कलेजको सातौं कलेज सभा शनिबार सम्पन्न भएको छ । सभाले गिता शर्माको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा नारायण घिमिरे (रमेश) चयन भएका छन् । संचालक समितिमा उपाध्यक्ष चयन गरिएको यो पहिलो पटक हो । यसैगरी संचालक समितिको पदेन सदस्यका रुपमा वडा नं. २ वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जीतपुरसिमरा २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शंकर आचार्य चयन भएका छन् ।

सभाले शिक्षा प्रेमी एवम् बुद्धिजीवीबाट निराजन थापा र कमला घिमिरे, अभिभावकबाट श्याम सुवेदी र सरला पौडेल, दानवीरबाट रवीन्द्र मान सिंह डंगोल र आदिवासी, जनजाति तथा अल्पसंख्यकबाट उदयबहादुर श्रेष्ठलाई संचालक सदस्य चयन गरेको छ ।

यसैगरी कलेजका शिक्षक प्रतिनिधि र त्रिभुवन विश्वविद्यालय प्रतिनिधि गरि दुई जनाको नाम टुंगो लाग्न बाँकी छ । संचालक समितिको सदस्यसचिवमा सिमरा कलेजका प्रमुख शम्भुप्रसाद खरेल रहनेछन् । १५ सदस्यीय संचालक समितिमा दुई जना अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।

यसैगरी सभाले लेखा समितिको संयोजकमा त्रिलोक विक्रम शाह र सदस्यमा युवराज न्यौपानेलाई चयन गरेको छ । लेखा समितिको सदस्यमा एक महिला भने मनोनीत गर्न बाँकी छ ।

त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा मधेस प्रदेश सभाका सदस्य देवनारायण चौधरी, मधेस प्रदेश सभाका पूर्वसदस्य सुन्दर विश्वकर्मा, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुरेशराज केसी, नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा एमालेका नगर अध्यक्ष त्रिलोक विक्रम शाह, वडाध्यक्ष धनबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कलेज संचालक समिति अध्यक्ष अच्युतदेव सिटौलाको अध्यक्षतामा सम्पन्न सभाको सहजीकरण सिता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्