धनुषाको एक होटलमा २३ वर्षीया युवती मृत फेला

जनकपुरः धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित ‘जुनतारा स्टाफ लाइन होटल’ मा मंगलबार बिहान एक २३ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्।
पोखरा महानगरपालिका १३ मियापाटी स्थायी घर भएकी जेनिसा विकको शव होटलको कोठामा फेला परेको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार मृतकको मुखबाट फिँज निस्किएको देखिए पनि शरीरको बाहिरी भागमा कुनै चोटपटक भेटिएको छैन।
घटनापछि होटल सञ्चालक रामपुकार साहसहित त्यहाँ कार्यरत अन्य कर्मचारीहरू फरार रहेकाले घटनालाई शंकास्पद मानिएको छ।
प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ भने मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





