पर्सामा ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक बालक पक्राउ

वीरगन्जः जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक बालकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित नगवा फुलवारी टोलबाट ती किशोरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्थानीय शेष मखु मियाँको घरमा स–साना पोका बनाई युवाहरूलाई गाँजा बिक्री गरिरहेको खबर प्राप्त भएपछि प्रहरीले उक्त स्थानमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा रातो र कालो प्लाष्टिकमा प्याक गरिएका पोकाहरू फेला परेका थिए । जसको कुल तौल १४ किलो दुई सय २६ ग्राम (प्लाष्टिक बाहेक) प्रहरीले जनाएको छ । बिक्री वितरणमा संलग्न रहेको आरोपमा अन्दाजी १५/१६ वर्षका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका बालकमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।





