श्रीमान्‌को आक्रमणबाट खुट्टा गुमाएकी हरकिलालाई इन्सेकद्वारा आर्थिक सहयोग


eShilalekh

३ बैशाख २०८३, बिहीबार १२:२७

सिमरा: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नै श्रीमान्‌को साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भई दाहिने खुट्टा गुमाएकी हरिकला सहनीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

वीरगन्जस्थित एल.एस. न्युरो हस्पिटलमा उपचाररत सहनीको स्वास्थ्य अवस्था र आर्थिक स्थितिलाई मध्यनजर गर्दै इन्सेकले १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो। गत चैत १ गते श्रीमान्‌ले प्रहार गरेको धारिलो हतियारबाट उनको खुट्टामा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा चोट निको नहुने भएपछि चिकित्सकहरूले उनको खुट्टा काट्नुपरेको थियो।

इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारीसहितको टोलीले अस्पतालमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेको छ। घटनामा संलग्न उनका श्रीमान्‌लाई प्रहरीले चैत १४ गते नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्