धनुषामा पूर्व वडाध्यक्ष महतो मृत फेला

धनुषाः धनुषाको सबैला नगरपालिका १२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय सबैलाका अनुसार महतोको शव बुधबार राति ११ बजे गणेशमान चारनाथ नगरपालिका ९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बर पुलमा फेला परेको हो । । महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रहरीका अनुसार शव भेटिएको स्थानमा १०/१२ वटा बियरका बोतल र अन्य मादक पदार्थका खाली बोतल फेला परेका छ । प्रारम्भिक अनुसन्धानबाट महतोसहित ८–९ जनाको समूहले त्यहाँ सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यद्यपि महतोसँगै रहेका भनिएका व्यक्तिहरू हाल फरार रहेका छन् भने प्रहरीलाई सुरुमा जानकारी दिने व्यक्तिसमेत सम्पर्कविहीन भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले मृत्युको ठोस कारण अहिले नै खुल्न नसकेको जानकारी दिएका छन् । प्रहरीले हाल फरार रहेका व्यक्तिहरूको पहिचान गर्ने र खोजी कार्यलाई तीव्र बनाएको छ ।
मृतक महतोको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।





