सिमरा प्रहरीको सफल अनुसन्धानले खुलेको अपराध

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरास्थित पथलैया–वीरगन्ज सडकखण्डको सडकपेटीमा गत सोमबार बिहान फेला परेको एक वेवारिसे शवले ठूलो रहस्य उजागर गरेको छ। व्यस्त राजमार्गको छेउमा एक पुरुष लडिरहेको अवस्थामा देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। मृत भेटिएका व्यक्ति पर्साको पटेर्वा सुगौली गाउँपालिका ४ का ३५ वर्षीय पल्टु माझी मुसहर भएको पुष्टि भएको थियो ।
प्रारम्भिक मुचुल्काका क्रममा घटना शंकास्पद देखिएपछि प्रहरीले नजिकैका सिसिटिभी फुटेजहरू संकलन गरी अध्ययन गरेको थियो। सोही फुटेजले घटनाको महत्वपूर्ण मोड खोलिदिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानलाई तीव्र बनाउन प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको थियो । सिसिटिभी फुटेजका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले ४८ घण्टाभित्रै घटनामा संलग्न एक कारसहित तीन जनालाई पक्राउ गरेको छ ।
फुटेजमा बा ३ च १४४३ नम्बरको निलो कारमा आएका व्यक्तिहरूले शव सडक किनारामा छोडेर फरार भएको देखिन्छ। सोही कार सिमरा हुँदै मकवानपुरको रातोमाटेबाट हेटौंडातर्फ गएको देखिएपछि प्रहरी सहायक निरीक्षक बृजेश यादवको टोलीले पछ्याउँदै अनुसन्धान अगाडि बढाएको थियो।
पछिल्लो अनुसन्धानका क्रममा काभ्रेको बनेपा नगरपालिका ८ धुलबजारस्थित मुगले अटो वर्कशपबाट सोही कारसहित चालक मुन्ना भनिने समिउल्लाह आलम पक्राउ परेका छन् । भारत बिहार घर भई हाल पाँचखाल नगरपालिका ४ तामाघरमा बस्दै आएका आलमले कार भाडामा प्रयोग गरिएको बयान दिएका छन् ।
उनका अनुसार मृतक माझीलाई काभ्रेदेखि बारासम्म ल्याउने क्रममा पर्सा सखुवा प्रसौनी गाउँपालिका ६ का २० वर्षीय विशाल साह र बारा फेटा गाउँपालिका ३ का २५ वर्षीय कौशल देवान पनि सवार थिए । साहलाई सिमरा र देवानलाई नितनपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धान अनुसार तीनै जना घर निर्माण कार्यमा संलग्न मिस्त्री हुन् र पछिल्लो समय काभ्रेको पाँचखालमा बस्दै आएका थिए। उनीहरूलाई वीरगन्ज महानगरपालिका १ छपकैयाका ठेकेदार मेहराज अन्सारीले काममा लगाएको खुलेको छ।
प्रारम्भिक बयानअनुसार माझी केही दिनदेखि बिरामी रहेको र उनको अवस्था बिग्रँदै गएको थियो। अवस्था गम्भीर बनेपछि ठेकेदार अन्सारीको निर्देशनमा उनलाई सडकमा छोडिएको र त्यसका लागि कार भाडामा लिइएको खुलेको प्रहरीले जनाएको छ।
साह र देवानले भने माझीलाई ल्याउने क्रममा बाटोमै मृत्यु भएको र त्यसपछि डरका कारण शव सडक किनारामा छोडिएको दाबी गरेका छन्। तर प्रहरीले शव व्यवस्थापनमा उनीहरूको सक्रिय भूमिका देखिएकाले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरी निरीक्षक थापाले घटनालाई गम्भीर र शंकास्पद भन्दै अनुसन्धान जारी रहेको बताए। चैत २३ गते कामका लागि घरबाट काभ्रे गएका माझीको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले ठेकेदार, चालक र दुई मिस्त्रीसहित चार जनाविरुद्ध किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको छ।
मृतक माझीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। परिवारले घटनालाई नियोजित हत्या भएको आशंका गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।





