रौतहटबाट तीन बालक तीन दिनदेखि बेपत्ता, अवस्था अझै अज्ञात


eShilalekh

३० बैशाख २०८३, बुधबार ११:५९

रौतहटः रौतहटको कटहरियाबाट तीन दिनअघि हराएका तीन जना बालक अझै सम्पर्कविहिन रहेका छन् ।

कटहरिया नगरपालिका ५ का १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन् ।

तीनै जना एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । परिवारका सदस्यका अनुसार उनीहरू सोमबार दिउँसो विद्यालयबाट घर फर्किएपछि बाहिर खेल्न जान्छौँ भन्दै घरबाट निस्किएका थिए ।

त्यसयता उनीहरू घर नफर्किएको अभिभावकले बताएका छन् । बालक हराएपछि अभिभावकहरूले स्थानीय प्रशासन तथा प्रहरीसँग खोजी गरिदिन आग्रह गरेका छन् । तर घटनाको तीन दिन बितिसक्दा पनि बालकहरूको अवस्था अज्ञात रहेको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरका अनुसार बालकहरूको तस्बिर र हुलियासहितको विवरण सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको छ । नेपालभर प्रहरी परिचालन गरिएको तथा भारतीय प्रहरीसँग समन्वयका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

स्थानीयवासीले बालकहरूको शीघ्र खोजी गरी सुरक्षित रूपमा परिवारको सम्पर्कमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्