रौतहटको जुडीबेला नजिक राजमार्गमा एक युवक मृत अवस्थामा फेला

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिकास्थित जुडीबेला चोक नजिकै बिहिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।माधवनारायण नगरपालिका १ दिपहीका सन्तलाल राय यादवका २१ वर्षीय छोरा अन्जय कुमार यादव मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डीएसपी विष्णु प्रदीप वस्यालका अनुसार मृतकका आफन्तले घटनास्थलमा पुगेर शवको पहिचान गरेका छन् ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरमा कुनै पनि किसिमको बाह्य चोटपटक नदेखिएको र उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।






