जीतपुरमा सर्भिस लेन र फुटपात खाली गर्न पुगेका नगर प्रहरीमाथि दुर्व्यवहार

सिमराः बाराको जीतपुरस्थित मुख्य बजार क्षेत्रको सडकमा राखिएका पसल तथा ठेला हटाउन पुगेका नगर प्रहरीमाथि केही व्यापारीले दुर्व्यवहार गरेका छन् । सर्भिस लेन क्षेत्रमा राखिएका ठेला र पसलका सामान हटाउन पुगेका नगर प्रहरीमाथि ब्यापारीले दुर्व्यवहार गरेका हुन् ।
सडक कब्जा गरेर राखिएका बजार हटाउन थालेपछि केही व्यापारी नगर प्रहरीविरुद्ध आक्रोशित बनेका थिए । सो क्रममा व्यापारीले नगर प्रहरीमाथि हातपातको प्रयास गर्दै मकै पोल्ने तातो खरानी समेत प्रहार गरेका छन् ।
तातो खरानी प्रहार गर्ने एक व्यापारीलाई नगर प्रहरीले नियन्त्रणमा लिई छाडेको छ । सडकबाट पक्राउ गरी उपमहानगरपालिकाको कार्यालय लगिएका व्यापारीलाई प्रहरीको आग्रहपछि छाडिएको हो ।
ब्यापारी नियन्त्रणमा लिने क्रममा केहीबेर दुई पक्षबीच घम्साघम्सी समेत भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत खटिएपछि अहिले स्थिती सामान्य बनेको छ ।
केही समयअघि पूर्णरुपमा खाली गरिएको सर्भिस लेनमा पुनः व्यापारीहरु फर्किएर पसल र ठेला राख्न थालेपछि स्थिती तनावपूर्ण बनेको हो । नगर प्रहरीको टोली दुई दिन अगाडी पनि उक्त सडक खाली गराउन पुगेको थियो । सो समयमा पनि ब्यापारीले नगर प्रहरीलाई फर्काएका थिए ।
दुई दिनपछि थप मद्यत लिएर पुगेको नगर प्रहरीले बल प्रयोग गर्दै सर्भिस लेन खाली गराउने काम सुरु गरेको हो । ब्यापारीहरुले सडक कब्जा गरेर सडकमै व्यापार गर्दा बजार क्षेत्र अस्तव्यस्त बन्ने गरेको छ । सर्भिस लेनमा ब्यापार गर्दा यातायात संचालनमा समेत कठिनाई हुँदै आएको छ ।
व्यापारीले भने आफूहरुलाई उचित व्यवस्थापन गर्न माग गरिरहेका छन् ।






