हावाहुरीको वितण्डाः जीतपुरसिमरा २२ मा सयौं परिवारको बिचल्ली


eShilalekh

१० जेष्ठ २०८३, आईतवार १४:४९

सिमराः शनिबार साँझ आएको भीषण हावाहुरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ का थुप्रै घरमा क्षति पुगेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका अनुसार बिरेदमार, मुलखोला, चकरी, नयाँबस्तीका स्थानीयको घरमा हावाहुरीले क्षति पुर्याएको हो ।

बिरेदमारमा मात्रै २६ घरमा क्षति पुगेको छ । हुरीले केही स्थानीयको घर भत्काएको छ भने केहीको छाना उडाएको छ । घर र छाना उडाएपछि स्थानीयको बिचल्ली भएको छ ।

हावाहुरीले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि जीतपुरसिमरा २२ मा मात्रै सयौंको संख्यामा स्थानीय प्रभावित बनेका छन् । जनप्रतिनिधि, प्रहरी र स्थानीयको टोलीले उक्त वडा भित्रमा भएका क्षतिको विवरण संकलन गरिरहेको छ ।

यसैबीच बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहवर अंसारीले हुरीले क्षति पुर्याएको बिरेदमार बस्तीमा पुगेर आइतबार स्थानीयसँग भेट गरेका छन् । हुरीले पुर्याएको क्षतिको निरीक्षण गर्दै अंसारीले आफू स्थानीयको साथमा रहेको आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्