स्थापना दिवसमा हातेमालोद्धारा रक्तदान कार्यक्रमको आयोजना, ५१ जनाले गरे रगत दान

सिमराः आफ्नो १९औँ स्थापना दिवसको अवसरमा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार सिमरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ महिलासहित कुल ५१ जनाले रगत दान गरेका छन् ।
रक्तदान कार्यक्रमलाई रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयोग प्रदान गरेको थियो । कार्यक्रममा सहभागी दाताहरूले स्वेच्छिक रूपमा रगत दान गर्दै समुदायमा आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत आपूर्तिमा सहयोग पुर्याएका छन् । पछिल्लो समय रक्त अभाव बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् ।
हातेमालो साकोसका अध्यक्ष रामचन्द्र पौडेलले संस्थाको स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी साताव्यापी रूपमा विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । उनले सहकारीले समाजमा सकारात्मक प्रभाव पार्ने गतिविधिहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले हालका दिनहरूमा रगतको अभाव देखिएको उल्लेख गर्दै यस्ता रक्तदान कार्यक्रमहरूले अस्पताल तथा बिरामीहरूलाई ठूलो राहत पुग्ने बताए। उनले नियमित रूपमा रक्तदान गर्न तथा यस्ता सामाजिक अभियानमा सक्रिय रूपमा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।
स्थापना दिवसको अवसरमा संस्थाले साताव्यापीरुपमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको छ ।






