मधेसको पर्यटन प्रवर्द्धन गर्न शुक्रबारदेखि ‘मधेस ट्राभल मार्ट’

सिमरा: मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मधेसमा तीन दिने ‘मधेस ट्राभल मार्ट’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गर्ने भएको छ । नाटाले बिहीबार सिमरामा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको हो ।
नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार कार्यक्रममा नेपाल-भारत सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायीहरूको सहभागिता रहनेछ । पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या तथा कोलकाताबाट पर्यटन व्यवसायीहरू कार्यक्रममा सहभागी हुन आउनेछन् ।
अध्यक्ष लामिछानेले भारतीय पर्यटन व्यवसायीलाई मधेसका पर्यटकीय गन्तव्यबारे जानकारी गराई भारतीय पर्यटकको आगमन बढाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । यसले मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले पर्यटन क्षेत्रको अपार सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए । उनले अमलेखगञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत ट्राभल मार्ट आयोजना गरिएको जानकारी दिए ।

यसैगरी वडा नं. २१ का अध्यक्ष सुवास श्रेष्ठले अमलेखगञ्जमा पर्यटन विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटक आकर्षित गर्न विविध कार्यक्रम आवश्यक रहेको बताए । ट्राभल मार्टले अमलेखगञ्जलाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
नाटाले सार्वजनिक गरेको कार्यतालिका अनुसार कार्यक्रम वीरगञ्जबाट सुरु भएर जनकपुरधाममा सम्पन्न हुनेछ । भारतीय पाहुनाहरू बिहीबार साँझ रक्सौल नाका हुँदै वीरगञ्ज आइपुग्नेछन् । कार्यक्रमको औपचारिक उद्घाटन शुक्रबार बिहान वीरगञ्जस्थित होटल सरोवरमा हुनेछ । उद्घाटनअघि सहभागीहरूलाई महागढीमाई मन्दिर दर्शन गराइनेछ। उद्घाटनपछि टोली सिमरा पुग्नेछ जहाँ होटल क्लासिक प्लाजामा पर्यटन प्रवर्द्धन केन्द्रित छलफल कार्यक्रम सञ्चालन हुनेछ ।

दोस्रो दिन शनिबार सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट तथा पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइने कार्यक्रम रहेको छ । सिमराको कार्यक्रमपछि टोली बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर हुँदै जनकपुरधाम पुग्नेछ। जनकपुरमा मिथिला आर्ट ग्यालरी अवलोकन, जानकी मन्दिर दर्शन तथा गंगा आरतीमा सहभागिता गराइनेछ ।
कार्यक्रमको अन्तिम दिन सहभागीहरूलाई जनकपुरधामबाट बिदाइ गरिने नाटाले जनाएको छ। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज तथा होटल तथा पर्यटन व्यवसायी संघ बाराको समेत सहयोग रहनेछ ।
कार्यक्रमको बारेमा जानकारी दिन होटल सिमरा ईनमा आयोजित पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी अधिकृत सीमा यादव, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, उपाध्यक्ष गोविन्द गहतराजलगायतको उपस्थिती रहेको थियो ।







