प्रसौनी गाउँपालिका साक्षर घोषणा


eShilalekh

३१ जेष्ठ २०८३, आईतवार १६:४०

कलैयाः बाराको प्रसौनी गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका विद्यालय, शिक्षक, अभिभावक, शिक्षाप्रेमी तथा सरोकारवालाको सहभागितामा आयोजित कार्यक्रममा साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

प्रसौनीस्थित बेंगा साह माध्यमिक विद्यालयमा आयोजित घोषणासभामा गाउँपालिका अध्यक्ष विनोदप्रसाद जैसवालले साक्षर घोषणा सम्पूर्ण गाउँपालिकावासीको साझा उपलब्धि भएको बताए । उनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालयमा आवश्यक जनशक्ति व्यवस्थापन, शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले साक्षरता अभियानलाई सफल बनाउन स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य महत्वपूर्ण रहेको बताए । कार्यक्रममा विभिन्न विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव, विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षाप्रेमी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्