‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’

जनकपुरधामः मधेश प्रदेश सरकारको बहुचर्चित तर विवादित योजना ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ परिमार्जन भएको छ । विवादकै कारण पछिल्लो समय अलपत्र अवस्थामा पुगेको यस कार्यक्रमलाई वर्तमान सरकारले नयाँ स्वरूप दिँदै ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ मा परिणत गरेको हो ।
प्रदेशसभामा सोमबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराई (समिर) ले अब यस कार्यक्रमलाई ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी, समृद्ध मधेश’ भन्ने नयाँ नाराका साथ परिमार्जन गरिएको उल्लेख गरेका छन् ।
मधेश प्रदेशको पहिलो सरकारले निकै महत्वका साथ ल्याएको यो कार्यक्रम एक समय प्रदेशकै सबैभन्दा लोकप्रिय र गौरवको योजनाका रूपमा रहेको थियो । यस कार्यक्रमअन्तर्गत सञ्चालित साइकल वितरण, छोरी बिमा र लोकसेवा तयारी कक्षाजस्ता अभियानहरू राष्ट्रिय स्तरमै निकै चर्चित बनेका थिए । तर कार्यक्रमले गति लिइरहेका बेला साइकल खरिदमा भएको आर्थिक अनियमिततामा तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नै मुछिएपछि यो योजना विवादित बन्न पुग्यो ।
भ्रष्टाचारको आरोप र बदनामीका कारण विगत केही समयदेखि यो लोकप्रिय कार्यक्रम पूर्ण रूपमा अलपत्र परेको थियो । वर्तमान सरकारले यसको साख फर्काउँदै महिलाहरूलाई शिक्षाका साथै उद्यमशीलता र रोजगारीसँग जोड्ने उद्देश्यले कार्यक्रममा व्यापक हेरफेर गरेको हो ।







