सिमरामा नर्सिङ विद्यार्थीद्वारा पोषण सचेतना तथा प्रदर्शनी कार्यक्रम सम्पन्न

सिमरा: बाराको सिमरास्थित एभरग्रीन तराई हस्पिटलमा बुधबार पोषण सम्बन्धी विशेष सचेतना तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।एभरग्रीन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ साइन्समा पीसीएल नर्सिङ दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरूको आयोजनामा बालबालिकाहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोगसँगै मानिसहरूको खानपानको बानी बिग्रँदै गएको र यसले स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको वर्तमान परिवेशलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

इन्स्टिच्युटका निर्देशक सन्जु साहका अनुसार हाम्रा पुर्खाहरू औषधिभन्दा पनि स्वस्थ र सन्तुलित आहारकै कारण निरोगी रहने गरेको स्मरण गराउँदै अहिलेको युगमा खानालाई नै सही औषधिको रूपमा प्रयोग गर्न सके स्वास्थ्य राम्रो हुने सन्देश कार्यक्रममार्फत दिइएको छ।
‘उचित पोषण कुन उमेर समूहका बालबालिकालाई कति परिमाणमा आवश्यक पर्छ भन्ने कुरालाई विद्यार्थीहरूले आकर्षक ढंगले प्रदर्शन गरेका थिए’ निर्देशक साहले भने ‘यस्ता सचेतनामूलक कार्यक्रमहरू अस्पतालमा मात्र सीमित नभएर हरेक वडा र समुदाय स्तरसम्म पुग्न जरुरी छ ।’

कार्यक्रमको अवलोकन गर्दै इन्स्टिच्युटका अध्यक्ष रामचन्द्र सिंहले प्रदर्शनीको आधुनिक र रचनात्मक तरिकाले मानिसहरूमा चाँडो र गहिरो प्रभाव पार्ने उल्लेख गरे । नर्सिङ विद्यार्थीहरूको यस्तो सक्रियताले समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले स्वस्थ समाज निर्माणका लागि उचित पोषण अपरिहार्य रहेको बताए ।
कार्यक्रममा बारा र पर्सा जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो भने कुल ६३५ जनाले प्रदर्शनीको अवलोकन गरेका थिए।

एभरग्रीन तराई हस्पिटलले केही समयअघि मात्र बालबालिकाको मानसिक स्वास्थ्य तथा समग्र विकासलाई लक्षित गर्दै विशेष खेलौना प्रदर्शनी कार्यक्रम समेत सम्पन्न गरेको थियो । उमेरअनुसार उपयुक्त खेलौनाको छनोट, सुरक्षित तथा गुणस्तरीय खेल सामग्रीको प्रवर्द्धन र खेलमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यसहित अस्पतालले उक्त कार्यक्रम आयोजना गरेको थियो ।









