थोरै बजेट, धेरै प्रभाव: गाउँमा चुलिँदै कार्यपालिका सदस्य रसाईलीको चर्चा


eShilalekh

११ असार २०८३, बिहीबार १७:२१

सिमराः स्थानीय तहमा वर्षेनी करोडौंका योजना आउँछन्, तर कतिपय अवस्थामा ठूला बजेटका योजनाभन्दा थोरै रकमबाट गरिएका रचनात्मक कामले नागरिकको मन बढी जित्ने गर्दछ । यसैको एउटा बलियो उदाहरण बनेका छन् जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाईली ।

जीतपुरसिमरा ४ औराह घर भएका रसाईली पछिल्लो समय आफ्नो क्षेत्रमा लोकप्रिय बन्दै गएका छन् । २०७९ सालको स्थानीय निर्वाचनपछि नेकपा एमालेले युवा नेतृत्वको रूपमा उनलाई कार्यपालिका सदस्यमा पठाएको थियो । मिलनसार स्वभावका रसाईलीले पदमा पुगेपछि निरन्तर रचनात्मक र जनमुखी काम गर्दै आएका छन्, जसका कारण स्थानीयस्तरमा उनको चर्चा अहिले चुलिँदो छ ।

उपमहानगरपालिकाले कार्यपालिका सदस्यका लागि वार्षिक २० लाख रुपैयाँ बजेट विनियोजन गर्ने गर्दछ । नियमअनुसार त्यसमध्ये १५ लाख पुँजीगत र पाँच लाख रुपैयाँ चालु योजनामा खर्च गर्न पाइन्छ । रसाईलीले यही चालु शिर्षकको पाँच लाख रुपैयाँलाई नगरका विभिन्न वडामा छरिएर रहेका, तर आर्थिक अभाव झेलीरहेका सामुदायिक र भजन समूहहरूलाई आवश्यक सामग्री जुटाएर उदाहरणीय काम गरेका छन् ।

उनले जीतपुरसिमरा १ स्थित एकादशी समूहलाई भजनका लागि आवश्यक हार्मोनियम, मादल, स्पिकर, कर्नाल र दरीलगायतका सामग्री उपलब्ध गराए भने वडा नं. ४ को पशुपतिनाथ मन्दिरलाई हार्मोनियम, मादल र खैँचडी हस्तान्तरण गरेका छन् । यसैगरी दुर्गा भगवती एकादशी समूहलाई भाडावर्तन, हार्मोनियम, कामदा एकादशी समूहलाई ३० थान कुर्सी, मादल, खैँचडी, मुजुरा, स्पिकर, दरी र त्रिपाल तथा धौलागिरी महिला समूहलाई मादल, खैँचडी र स्पिकरलगायतका वाद्यवादन सामग्री वितरण गरे ।

सामाजिक र धार्मिक सद्भावलाई जोड दिँदै उनले घण्टीमाईलाई ८० थान कुर्सी र वडा नं. ३ स्थित उर्गेन टासी छोईलिङ गुम्बालाई ५० थान कुर्सी समेत सहयोग गरे । उपमहानगरपालिकाका वडामा वर्षेनी करोडौंका योजना विनियोजन हुने गरे पनि कतिपय काम लक्षित वर्गसम्म पुग्न सकेका हुँदैनन् । तर कार्यपालिका सदस्यलाई दिइएको सीमित अधिकार र सानो बजेटबाटै रसाईलीले गरेको यो कामको अहिले सर्वत्र प्रशंसा भइरहेको छ ।

सामग्री वितरण कार्यक्रममा विभिन्न समूहहरूले रसाईलीको कामको कदर गर्दै उनलाई सम्मान समेत गरेका थिए । ‘थोरै रकममै समुदायलाई प्रत्यक्ष महसुस हुने गरी काम भएको छ । यस्तो कामले मात्रै समुदायलाई वास्तविक रूपमा जनप्रतिनिधि गाउँमा आएको आभास गराउँछ’ जीतपुरसिमरा १ की उमा थापाले भनिन् ।

थापा मात्र होइन, नगरका विभिन्न भजन समूहका ज्येष्ठ नागरिक र महिला सदस्यहरूले पनि युवा नेतृत्वले समुदायको मर्म र आवश्यकता बुझेको भन्दै खुसी व्यक्त गरेका छन् । जनभावना बुझ्ने, समाजका हरेक वर्ग र संस्कृतिलाई समान रूपले हेर्ने र रचनात्मक सोच भएका रसाईली जस्ता युवा आगामी दिनमा पनि जनप्रतिनिधिको रूपमा हेर्ने चाहना रहेको स्थानीयको भनाई थियो ।

आफ्नो कामप्रति स्थानीयले देखाएको माया र प्रशंसाबाट उत्साहित बनेका कार्यपालिका सदस्य रसाईलीले आफ्नो कर्तव्य मात्र पूरा गरेको बताउँछन् । ‘कार्यपालिकाका लागि दिइएको सीमित बजेटलाई मैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक संघसंस्था र समुदायको हितमा लगाएको हुँ’ रसाईलीले भने ‘लामो समयदेखि सामग्रीको अभाव झेलिरहेका भजन समूह, महिला समूह र धार्मिक स्थलहरूलाई सानो भए पनि सहयोग पुगोस् भन्ने मेरो चाहना हो । आगामी दिनमा पनि नागरिककै हितमा समर्पित भइरहनेछु ।’

ठूला-ठूला आश्वासन दिने तर काम नगर्ने परिपाटीकाबीच कार्यपालिका सदस्य रसाईलीले ‘थोरै बजेटमा पनि धेरै र अर्थपूर्ण काम कसरी गर्न सकिन्छ’ भन्ने कुराको उदाहरण पेश गरेका छन् । यो कार्यले उनी कुशल जनप्रतिनिधिका रूपमा स्थानीयको मनमस्तिष्कमा बस्न सफल भएका छन् ।

रसाईलीले अघिल्लो वर्ष पनि विभिन्न समूहलाई सामग्री वितरण गरेका थिए ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्