मदरसा इस्लामियाका प्रधानाध्यापक अन्सारीको निधनमा बुधबार शोक बिदा


eShilalekh

१६ असार २०८३, मंगलवार १६:१७

सिमरा : बाराको जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले एक दिनका लागि विद्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार प्रधानाध्यापक अन्सारीको २०८३ साल असार १५ गते निधन भएको हो।

उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले शैक्षिक क्षेत्रको उत्थान तथा मदरसाको विकासमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च कदर गरेको जनाएको छ।

सूचनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको उल्लेख छ।

दिवंगतप्रति श्रद्धाञ्जली अर्पणस्वरूप २०८३ साल असार १७ गते (बुधबार) जीतपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा जारी सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्