आँप बेच्ने बहानामा ब्राउन सुगरको कारोबार गर्ने एक भारतीय नागरिक वीरगन्जबाट पक्राउ

सिमराः पर्साको वीरगन्जमा आँप बेच्ने बहानामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) को अवैध कारोबार गरिरहेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार बेतिया थाना गोपालपुर ग्राम पञ्चायत २ घोघा घर भई वीरगन्ज महानगरपालिका ८ मा डेरा गरी बस्ने ३० वर्षीय गुड्डु आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले आलमलाई वीरगन्ज महानगरपालिका वडा नं. १ स्थित भुतबंगला नजिकैबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार साइकलमा आँप राखी बिक्री गरिरहेको आवरणमा आलमले लागूऔषध समेत बेचिरहेको सूचना प्राप्त भएको थियो ।
उक्त सूचनाका आधारमा ती व्यक्तिको खानतलासी गर्दा लागूऔषध खैरो हिरोइन फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । खानतलासीका क्रममा साइकलको पछाडिको चक्का नजिकै झुण्ड्याइएको प्लास्टिकको बोरा भित्र, कालो प्लास्टिकले बेरिएको अवस्थामा लुकाइराखेको २७ ग्राम २९० मिलिग्राम गिलो खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको कार्कीले बताए ।
पक्राउ परेका आलमलाई बरामद गरिएको लागूऔषध र आँपसहितको साइकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।







