मधेशका डीआईजी अधिकारीले गरे पथलैयास्थित प्रदेश ट्राफिक कार्यालयको निरीक्षण

पथलैयाः मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले बुधबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरेका छन् । बारा र पर्सास्थित जिल्ला प्रहरी कार्यालय, वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको निरीक्षणपछि डीआईजी अधिकारी ट्राफिकको प्रादेशिक कार्यालय आएका हुन् ।
डीआईजी अधिकारीलाई कार्यालयका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले स्वागत गरेका थिए । निरीक्षणका क्रममा डीआईजी अधिकारीले प्रशासनिक शाखा, अभिलेख व्यवस्थापन, ड्युटी परिचालन, उपलब्ध स्रोत–साधनको अवस्था तथा समग्र कार्यसम्पादनको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
कार्यालयका अधिकृतले डीआईजी अधिकारीलाई संगठनात्मक संरचना, जनशक्ति परिचालन, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारीसाधन चेकजाँच, सेवा प्रवाह, चुनौती तथा भावी कार्ययोजनासम्बन्धी ब्रिफिङ गरेका थिए । सो क्रममा डीआईजी अधिकारीले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष सक्रियता अपनाउन निर्देशन दिएका छन् ।
उनले यात्रु तथा सवारीसाधनको सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्न सम्पूर्ण प्रहरी कर्मचारीले उच्च व्यावसायिकता, अनुशासन, इमान्दारिता र जिम्मेवारीका साथ कार्यसम्पादन गनुपर्ने बताए । डीआईजी अधिकारीले प्रहरी अधिकृत तथा कर्मचारीहरूसँग कार्यालयको कार्यसम्पादनलाई अझ प्रभावकारी र नतिजामुखी बनाउने विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज (पर्सा) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर, पथलैयास्थित प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बस्नेत, प्रहरी नायब उपरीक्षक नवराज न्यौपाने, प्रहरी निरीक्षक बिदुरचन्द्र अधिकारी, प्रहरी निरीक्षक रमेश राईलगायतको उपस्थिती रहेको थियो ।







