मोबाइल चोरीको आरोपमा बालबालिकामाथि कुटपिट, टांगियाबस्तीका चार महिला पक्राउ

सिमराः चार बालबालिकालाई रुखमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले बुधबार जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीबाट चार जना महिलालाई नियन्त्रणमा लिएको छ । मोबाइल चोरी गरेको आरोपमा चार बालबालिकालाई बरको रुखको फेदमा बाँधेर कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा १६ टांगियाबस्तीका ६२ वर्षीया मिना रजन मगर, ४२ वर्षीया निर्मला वाइवा, ३२ वर्षीया पवीकुमारी आले मगर र ३० वर्षीया रानीमाया मोत्तान रहेका छन् । बालबालिकामाथि मंगलबार भएको कुटपिटविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । बारा जिल्ला अदालतले समेत उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ ।







