नयाँ शिक्षा नियमावली: विद्यार्थीको कपाल जबरजस्ती काट्न नपाइने, आत्मसम्मानमा ठेस पुग्ने दण्डमा प्रतिबन्ध


eShilalekh

१८ असार २०८३, बिहीबार २०:५९

सिमराः विद्यालयहरूले अबदेखि विद्यार्थीको इच्छा विपरीत जबरजस्ती कपाल काट्न वा कटाउन नपाउने भएका छन्। सरकारले बिहीबार स्वीकृत गरेको ‘शिक्षा नियमावली (१० औं संशोधन)’ मा यस्तो व्यवस्था राखिएको हो ।

विगत लामो समयदेखि विद्यालयहरूले अनुशासनको नाममा विद्यार्थीको इच्छा विपरीत कपाल काटिदिने वा काट्न बाध्य पार्ने गरेको भन्दै व्यापक गुनासो र आलोचना हुँदै आएको थियो । यसैलाई सम्बोधन गर्दै सरकारले नियमावली परिमार्जन गरेको हो ।

स्वीकृत नियमावलीको नियम २५ मा विद्यार्थीको अधिकार र मानसिक स्वास्थ्यलाई विशेष जोड दिइएको छ। नियमावली अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न वा गराउन पाइने छैन ।

यस्ता छन् नयाँ नियमावलीमा समेटिएका मुख्य केही व्यवस्थाहरू:

साजसज्जाका आधारमा दुर्व्यवहार गर्न नपाइने: विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा उनीहरूलाई होच्याउने, लाञ्छित गर्ने वा उनीहरूको चरित्रमाथि प्रश्न उठाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

कडा दण्ड सजायमा प्रतिबन्ध: लामो समयसम्म घाममा वा अन्य कुनै प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिन पाइने छैन। निजको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामा प्रतिकूल असर पुग्ने कुनै पनि कार्य गर्न पाइने छैन।

आर्थिक कारणले अपमान गर्न नपाइने: विद्यालयको शुल्क नतिरेको बहानामा विद्यार्थीलाई अपमानित गर्न, सार्वजनिक रूपमा लाञ्छित गर्न, वा भेदभावपूर्ण व्यवहार गर्न पाइने छैन।

शैक्षिक अधिकारको ग्यारेन्टी: कुनै पनि बहानामा विद्यार्थीलाई कक्षा कोठा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्न नपाइने व्यवस्था नियमावलीमा स्पष्ट रूपमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्