खसी–बाख्राको झण्डै आठ क्विन्टल अवैध छाला बरामद, खाल्डो खनेर नष्ट

सिमराः अवैधरुपमा भारततर्फ लैजान लागिएको अवस्थामा बरामद गरिएको खसी-बाख्राको छाला बारा प्रहरीले बिहीबार नष्ट गरेको छ ।
बिश्रामपुर गाउँपालिका-५ स्थित बङ्गरी खोलाको पुल नजिकबाट बरामद गरिएको सात क्विन्टल ६८ केजी रौंसहितको आलो छाला जमिनमा गाडेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बरामद गरिएको छालालाई परवानीपुर गाँउपालिका–५ स्थित सिङसान खोलाको किनारमा खाल्डो खनेर पुरिएको हो । छाला नष्ट गर्ने क्रममामा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामा, प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष, परवानीपुर गाउँपालिका–५ का वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
९ वटा जुटको बोरामा रहेको उक्त छालाको बजार मूल्य करिब तीन लाख ९० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त छाला अवैध मार्ग हुँदै भारततर्फ तस्करी गर्न लागिएको खुलेको छ ।
प्रहरी टोलीलाई देखेपछि छाला ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएकाले कसैलाई पनि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी भइरहेको र थप अनुसन्धान अघि बढाइएको प्रवक्ता घलेले बताएका छन् ।







