वीरगन्जको मेन रोडमा फेरि चल्यो डोजर: २५ मिटर सडक विस्तार कार्य सुरु


eShilalekh

१९ असार २०८३, शुक्रबार १५:५१

वीरगन्ज: वीरगन्जको मुख्य सडक (मेन रोड) क्षेत्रमा रहेका अवैध संरचनाहरूमाथि शुक्रबारदेखि पुनः डोजर चलाउन सुरु गरिएको छ । सडक विभागले साढे दुई महिनादेखि अलपत्र परेको सडक विस्तारको कामलाई फेरि निरन्तरता दिएको हो ।

यसअघि गत वैशाख ६ र ७ गते सडक विभागले सडकको केन्द्र रेखाबाट दायाँ-बायाँ २५/२५ मिटर भित्र पर्ने करिब एक हजार दुई सय घर तथा भवनहरूमा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो ।

पहिलो चरणपछि सडक विभागले बाँकी रहेका संरचनाहरू २५ दिनभित्र खाली गर्न अनुरोध गरेको थियो । सो अवधिमा पनि सम्बन्धित घरजग्गा धनीहरूले आफैं संरचना नहटाएपछि विभागले पुनः डोजर प्रयोग गर्नुपरेको जनाएको छ ।

सडक डिभिजन कार्यालय हटौडाका प्रमुख किरण कार्कीका अनुसार शुक्रबारदेखि वीरगन्जको गण्डक चोकबाट सडक क्षेत्रभित्र परेका बाँकी संरचनाहरू हटाउन थालिएको हो । सडक डिभिजन हटौडाले यसअघि असार २ गते एक सूचना जारी गर्दै ५ दिनभित्र संरचनाहरू आफैं खाली नगरे सडक ऐन बमोजिम हटाइने चेतावनी दिएको थियो ।

वैशाखमा सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेन रोड क्षेत्रमा डोजर चलाएपछि केही घरधनीहरूले २५ मिटर क्षेत्रमा पर्ने आफ्ना घरहरू आफैं पनि भत्काएका थिए। तर, घण्टाघरदेखि माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेन रोड क्षेत्रका अधिकांश घर र भवनहरू भने घरधनीहरूले अझैसम्म भत्काएका छैनन्।

यता वैशाख ६ र ७ गते सडक विभागले डोजर चलाएदेखि नै मेन रोड क्षेत्रका घरधनी तथा व्यवसायीहरूले सडक विस्तार कार्य रोक्न माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरूले मेन रोडलाई ‘शहरी मार्ग’ कायम गरिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्