कटुवा पेस्तोल र १२२ ग्राम खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ


eShilalekh

१९ असार २०८३, शुक्रबार १८:४२

सिरहा: लागूऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई सिरहा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला, बिरपुर ग्राम पञ्चायत–३ निवासी करिब ३५ वर्षीय अब्दुल कलाम रहेका छन् ।

प्रहरीले उनलाई सिरहाको नवराजपुर गाउँपालिका-५ झाझपट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बीआर ३२ एआर ६०२४ नम्बरको भारतीय मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा रोक्न खोज्दा फरार भएका थिए।

प्रहरीले पछ्याउने क्रममा कलामले आफूसँग रहेको कटुवा पेस्तोलबाट प्रहरीमाथि गोली प्रहार गर्न थालेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको जनाएको छ । सोही क्रममा उनको खुट्टामा गोली लागेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कलामको साथबाट कटुवा पेस्तोल र एक सय २२.८० ग्राम लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरेको छ ।

सीमा क्षेत्रमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागूऔषध नियन्त्रण ब्युरो गोलबजार तथा इलाका प्रहरी कार्यालय महेशपुर पतारको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्