सूर्य नेपालद्वारा सिमरास्थित नमुना माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण


eShilalekh

२० असार २०८३, शनिबार १२:००

सिमराः बाराको सिमरास्थित सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयलाई सात थान नयाँ स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

आयोजित एक विशेष समारोहका बीच सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठले विद्यालयका प्रधानाध्यापक शङ्कर आचार्यलाई उक्त स्मार्ट बोर्डहरू हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै व्यवस्थापक श्रेष्ठले अहिलेको प्रतिस्पर्धात्मक युगमा कम्प्युटर तथा डिजिटल सीप विद्यार्थी र शिक्षक दुवैका लागि आधारभूत आवश्यकता बनिसकेको बताए। सूचना प्रविधिको तीव्र विकाससँगै विद्यालयको सिकाइ प्रणाली पनि डिजिटल माध्यममा रूपान्तरण हुन आवश्यक रहेको औँल्याउँदै उनले कृत्रिम बौद्धिकता (एआई) मा आधारित च्याटजीपीटी, जेमिनी तथा क्लाउड प्रविधिजस्ता उपकरणले विश्वव्यापी रूपमा शिक्षा र कार्यशैली परिवर्तन गरिरहेको उल्लेख गरे।

कम्पनीले नेपाल राष्ट्रिय नमुना माविलाई मात्र नभई यस क्षेत्रका अन्य पाँच वटा शिक्षण संस्थालाई पनि प्रविधिमैत्री बनाउन सहयोग गरेको छ। जसअन्तर्गत सिमरा कलेजलाई चार वटा तथा जनता माध्यमिक विद्यालय, रजघट्टा माध्यमिक विद्यालय, डुमरवाना माध्यमिक विद्यालय र पथलैया माध्यमिक विद्यालयलाई जनही २–२ वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको छ।

सूर्य नेपालले यसअघि पनि नेपाल राष्ट्रिय नमुना माविमा प्रशासनिक भवन निर्माण, जीवविज्ञान प्रयोगशाला स्थापना, कम्प्युटर वितरण र सात वटा स्मार्ट बोर्ड सहयोग गरिसकेको छ। हाल विद्यालय परिसरमा इन्टरलक ब्लक बिछ्याउने र हरियाली प्रवर्द्धनको काम भइरहेको कम्पनीले जनाएको छ।

सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानाध्यापक शङ्कर आचार्यले स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठाको शिक्षण सिकाइलाई थप प्रभावकारी, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बनाउने विश्वास व्यक्त गरे। अडियो, भिडियो र डिजिटल प्रस्तुतीकरणका माध्यमबाट पढाउँदा विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य सुधार आउने उनको भनाइ थियो।

जीतपुरसिमरा उपमहानगरपालिकाभित्र डिजिटल शिक्षाको विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको यस कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका प्रतिनिधिहरू यज्ञबहादुर आले, उमेश थापा सहित विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्