सिरहामा ११ लाखभन्दा बढीको अवैध सामानसहित मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा


eShilalekh

२० असार २०८३, शनिबार १२:१८

सिरहाः सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रूपमा ओसारपसार भइरहेका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएको छ ।

भन्सार छलेर नेपाल भित्र्याइँदै गरेका र अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ रुपैयाँ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको विशेष गस्ती तथा कडा निगरानीका क्रममा यी अवैध सामग्रीहरू बरामद गर्न सफल भएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाका अनुसार बरामद गरिएका सम्पूर्ण सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्