बारामा किशोरीमाथि अभद्र व्यवहार र कुटपिट, पीडा सहन नसकेर गरिन् आत्महत्या

सिमराः बाराको कलैया उपमहानगरपालिका–२१ मा एक १३ वर्षीया किशोरीले दुर्व्यवहार र अपमानको पीडापछि आत्महत्या गरेकी छिन् । गाउँका केही युवाहरूको दुर्व्यवहार, कुटपिट र अपमानका कारण किशोरीले गत असार १६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको घटना बाहिरिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार असार १५ गते ती किशोरी गाउँ नजिकैको एक सार्वजनिक स्थानमा आफ्ना दुई जना युवक साथीहरूसँग कुराकानी गरिरहेकी थिईन् । सोही समयमा त्यहाँ पुगेको गाउँका युवाहरूको एउटा समूहले किशोरी र उनका साथीहरूमाथि अभद्र व्यवहार गर्दै गालीबेइज्जती र कुटपिट गरेका थिए ।
उक्त समूहले कुटपिट र दुर्व्यवहारको भिडियो समेत खिचेका थिए । उनीहरूले किशोरीलाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक गरिदिएका थिए । भिडियो सार्वजनिक भएपछि र युवाहरूले घरमै पुगेर अभिभावकका सामु मानसिक तनाव दिएपछि विक्षिप्त बनेकी किशोरीले भोलिपल्ट असार १६ गते आत्महत्या गरेकी हुन् ।
छोरीको मृत्युपछि न्यायको खोजी गर्दै मृतककी आमाले इलाका प्रहरी कार्यालय सिमरामा पुगेर घटनामा संलग्न व्यक्तिहरूविरुद्ध किटानी जाहेरी दर्ता गराएकी छिन् । पीडित आमाको बयान र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आत्महत्याको भित्री कारण खुलेको हो ।
जाहेरी परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका किशोरमाथि जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । किशोरको बयानका आधारमा घटनामा संलग्न रहेका अन्यलाई समेत कानूनी दायरामा ल्याइने प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।







