पचरौतास्थित सीमावर्ती क्षेत्रमा एक भारतीय नागरिक मृत फेला


eShilalekh

२२ असार २०८३, सोमबार ०९:५६

सिमरा: बाराको पचरौतास्थित नेपाल-भारत सीमा क्षेत्रमा आइतबार राति एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पचरौता नगरपालिका-१ स्थित जमुनिया खोलाको किनारमा पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले मृतक भारतीय नागरिक रहेको भन्ने खुलेको जानकारी दिए । प्रवक्ता घलेले भारतमा रहेका मृतकको आफन्तलाई बोलाइएको बताए ।

जमुनिया खोलाको किनारमा बेवारिसे अवस्थामा शव देखेपछि भारतीय सीमा सुरक्षा बलले नेपाल प्रहरीको पिपरपातीस्थित प्रहरी चौकीमा खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ पिपरपाती चौकीका प्रहरी सहायक निरीक्षक समसुदिन मिया तेलीको टोली र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवर समेत घटनास्थलमा पुगेका थिए ।

प्रहरी प्रवक्ता घलेले घटनाको अनुसन्धान सुरु गरिएको र शवलाई शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्