महोत्तरीमा चार सय ८७ किलो गाँजासहित दुई जना पक्राउ

महोत्तरीः महोत्तरी प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका १ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका १ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्दा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा पहिलो चरणमा बरामद गरेको थियो ।
उक्त बरामद गाँजा र ट्रकसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि महोत्तरी प्रहरीमा बुझाइएपछि अनुसन्धानको दायरा अझ फराकिलो बनाइएको थियो ।
प्रारम्भिक बयान र अनुसन्धानका आधारमा प्रहरीले आइतबार बिहान महोत्तरी गाउँपालिका ४ रानी रतवाडास्थित एक घरमा खानतलासी गर्दा लुकाएर राखिएको थप चार सय ४६ किलो सात सय ४५ ग्राम गाँजा फेला पारेको हो । यससँगै कुल बरामद लागूऔषध गाँजाको परिमाण चार सय ८७ किलो एक सय पाँच ग्राम पुगेको छ ।
हाल बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका दुवै अभियुक्तहरूमाथि लागूऔषधसम्बन्धी कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप कानुनी अनुसन्धान अगाडि बढाएको छ ।







