गरिमा हत्या प्रकरणः चकलेट खुवाएर बलात्कार, डोरीले कसेर हत्या

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तीटोलस्थित एक घरमा मृत भेटिएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । साउन ३१ गते घर अगाडी खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ फेला परेको हो ।
घटनास्थल र शवको अवस्थाबाट हत्याको निष्कर्षमा पुगेको प्रहरीले शव भेटिएको केही समयमै घटनामा संलग्न एक १६ वर्षीय बालकलाई पक्राउ गरेको छ । पक्राउ परेका बालकले आफूले नै गरिमाको बलात्कार र त्यसपछि हत्या गरेको स्वीकार गर्दै घटनाबारे जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका बालक जीतपुरसिमरा उपमहानगरपालिका-२ का हुन् । उनी जीतपुरसिमरा-१ दसधुरेस्थित प्रोग्रेस चौधरीले चलाउने म्याजिक गाडीमा सहचालकको रुपमा काम गर्थे । १० दिनअघि मात्रै चौधरीको म्याजिकमा काम गर्न थालेका बालकले गरिमालाई फकाउँदै लगेर बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।

घटनाको दिन मनोज चौधरीकी कान्छी छोरी गरिमा करिब एक सय मिटर टाढा रहेको प्रोग्रेसको घरमा गएकी थिईन् । सधैंझै प्रोग्रेसको पाँच वर्षीया छोरीसँग खेल्न गएका बेला गरिमा बेपत्ता भएकी हुन् । घटना हुँदा बालिकाको बुवा मनोज अमलेखगञ्जमा वेल्डिङ काम गर्न निस्किसकेका थिए । आमा मनमती आफ्नै घरमा थिइन् । सधैंझै खेलेर फर्कनेमा ढुक्क रहेकी मनमतीले त्यसदिन गरिमा नफर्किएको र प्रोग्रेसको घरमा समेत नदेखेपछि खोजी सुरु गरिन् । केही बेर खोज्दा समेत नभेटिएपछि परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गरिमा वेपत्ता भएको स्थानलाई केन्द्रीत गरेर खोजी गरिरहेको थियो ।
हराएकी बालिकाको अवस्था पत्ता लगाउन प्रहरीले वरपरको सिसिटिभी फुटेज जाँच गर्नुका साथै नजिकको जंगल तथा बजार क्षेत्रमा विभिन्न टोली परिचालन गर्दै आएको थियो । खोजीकै क्रममा बेपत्ता भएको स्थानभन्दा दक्षिणतर्फको एक सुनसान घरमा मंगलबार साँझ बालिकाको शव अर्धनग्न अवस्थामा भेटियो । उक्त घरबाट गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको शव देखेर प्रहरीलाई खबर गरेको स्थानीयले बताए ।
शव फेला परेलगत्तै प्रहरीले अनुसन्धानका लागि वीरगन्जबाट तालिमप्राप्त कुकुर झिकायो । बालिकाको लुगा सुँघेर घटनास्थलबाट निस्किएको तालिमप्राप्त कुकुर केहीबेरपछि प्रोग्रेसकै घर वरपर पुगेर रोकियो । प्रहरीले शंकाको आधारमा बालकलाई तत्कालै नियन्त्रणमा लिई सोधपुछ थाल्यो । सोधपुछका क्रममा बालकले बालिकालाई चकलेट खुवाउँदै फकाएर उक्त घरसम्म लगेको र बलात्कारपछि हत्या गरेको कहालिलाग्दो बयान दिँदा प्रहरी समेत चकित बनेका थिए ।

प्रोग्रेसको घर अगाडी खेल्दै गरेकी बालिकालाई बालकले चकलेट खाने भन्दै लिएर हिँडेका थिए । उनले नजिकैको पसलबाट १० रुपैयाँको चकलेट किनेर बालिकालाई दिए । चकलेट पाएपछि अवोध बालिका उनको पछिपछि उक्त घरमा पुगिन् । जुन घर पाँच महिनादेखि खाली र सुनसान थियो । खाली र खुला रहेको उक्त घरको विषयमा जानकार रहेका बालकले बालिकालाई त्यही घरमा लैजाने मनशाय बनाईसकेका थिए ।
उक्त घरभित्र लगिसकेपछि बालिकामाथि जबरजस्ती करणी गरेको र सो समयमा अचेत भएकी बालिकाको घाँटीमा डोरीले कसेर आफू निस्किएको बयान बालकले प्रहरीलाई दिएका छन् । त्यसको केहीबेर पछि उनी फेरि त्यही सुनसान घरमा पुग्छन् । त्यहाँ बालिकालाई मृत देखेपछि घाँटीको डोरी खोलेर नजिकै रहेको तन्नाले छोपेर उनी प्रोग्रेसको घरमा फर्कन्छन् । घटनास्थलको अवस्था र बालकले दिएको बयान मिल्दोजुल्दो भएपछि उनैबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
यता बेपत्ता भएको खबर फैलँदै थियो । प्रहरी, परिवार र स्थानीयले बालिकाको खोजी सुरु गरिसकेका थिए । बालक पनि अनविज्ञ बन्दै बालिकाको खोजी गर्ने टोलीमै देखिन थाल्छन् । आफ्नो अपराध लुकाउन बालिकाको खोजीमा सहयोग गरेझैं गरेका बालक अन्ततः प्रहरीबाट उम्कन सक्दैनन् ।

प्रहरीले पक्राउ गरेपछि उनले आफ्नो अपराध स्वीकार गरेका हुन् । बयानका क्रममा बालकले घटनापछि आफूले गलत गरेको महसुस भएको र डरका कारण लुकाउन खोजेको बताएका छन् । बलात्कार गरेको पुष्टि भएपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरी हिरासतमा राखेको छ भने म्याजिकका चालक चौधरीलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका दुबैजनालाई बुधबार सार्वजनिक समेत गरेको छ । उनीहरुलाई बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रहरी उपरीक्षक कुँवरले पक्राउ परेकामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्धामा कारवाही प्रक्रिया अघि बढाइएको बताए ।
घटनाको विरोधमा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डस्थित दसधुरे क्षेत्रमा दिनभर टायर बालेर प्रदर्शन गरेका छन् । घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग राख्दै स्थानीयले दसधुरेसहित पथलैया, जीतपुरमा प्रदर्शन गरेका हुन् । पथलैया र जीतपुरको प्रदर्शन स्थगित भएपनि दसधुरेमा भने राजमार्ग बुधबार राति ८ बजेसम्म अवरोध यथावत छ । स्थानीयले कानून संसोधन गरेर भएपनि दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग राखेका छन् ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको माग गरेका छन् भने अनुसन्धानका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै पौडेलले जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा बाल कक्षा (नर्सरी) मा अध्ययनरत बालिकाप्रति श्रद्धान्जली व्यक्त गर्न बिहीबार सम्पूर्ण विद्यालयमा शोकसभा राख्न समेत अपिल गरेका छन् ।







