सर्लाहीको डुमरियामा भारतीय मोटरसाइकल दुर्घटनाः दुई युवकको मृत्यु, एक गम्भीर घाइते


eShilalekh

१३ भाद्र २०८३, शनिबार १३:००

सिमराः सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित बरहथवा-मधुवनी सडकखण्डमा शुक्रबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बलरा नगरपालिका–६ का १७ वर्षीय अभिनाश बैठा र बीचमा सवार १८ वर्षीय रोहित बैठा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि घाइते भएका अभिनाशको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा र रोहितको वीरगन्जतर्फ उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा पछाडि सवार भारतको बिहार राज्य सितामढी जिल्ला बथनाहा रनैउली–१० घर भई हाल बलरामा बस्दै आएका २४ वर्षीय शनिकुमार बैठा गम्भीर घाइते भएका छन् । उनको हाल वीरगन्जमा उपचार भइरहेको छ ।

मोटरसाइकल सडकबाट करिब साढे पाँच फिट तल पुलको साइफनमा खसेको थियो। सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्