कोरोनाले विद्यार्थीमा मनोसामाजिक समस्या


Author

eShilalekh

June 27, 2021 9:05 am

कोभिड १९ नामक कोरोना भाइरसले अहिले विश्वव्यापी प्रभाव पारिरहेको छ। यो भाइरसको संक्रमण पहिलोपल्ट हाम्रो छिमेकी राष्ट्र चीनमा देखिएको थियो। नेपालमा अहिलेसम्म कुनै पनि व्यक्तिलाई यसको संक्रमण नदेखिएको सरकारी तथ्यांकले देखाएको छ। तर पनि भविष्यमा देखा पर्न सक्ने खतरालाई चिर्नको लागि योजना बनाउनु अति आवश्यक छ।

यो नयाँ खालको भाइरसको चर्चा परिचार्चाले नेपालका बालबालिकालाई पनि चिन्तित तुल्याउन थालेको देखिएको छ। आफू वरिपरि कसैलाई सामान्य रुघाखोकी लागेमा, त्यो कोरोना भाइरसको संक्रमण नै पो हो कि भन्ने त्रास हिजोआज बढेको पाइन्छ। अनि आफूलाई पनि रुघाखोकी लाग्दा वा टाउको दुख्दा, त्यो पनि कोरोना भाइरसकै संक्रमण हो र अब मरिन्छ कि भन्ने खालका सोचाइहरू बालबालिका एवं विद्यार्थीमा बढ्दै गएको पाइन्छ।

यस्तो खालको सोचाइ बढेपछि बालबालिकामा विभिन्न खालका मनोसामाजिक समस्याहरू पनि देखा पर्न थालेका छन्। समय बित्दै जाँदा यसले विकराल रूप नलेला भन्न सकिने अवस्था छैन। छाती हल्लिएको जस्तो हुने, रिंगटा लाग्ने, छटपटी हुने, अब मरिने हो कि भन्ने सोचाइ बढ्ने, टाउको दुख्ने, हातगोडा काम्ने, राति निद्रा नलाग्ने, मन हतास हुने, एकोहोरो हुने, अरूसँग बोल्न मन नलाग्ने, पढ्न लेख्न मन नलाग्ने, एक्लै बस्ने जस्ता समस्याहरू धेरैजसो बालबालिकामा देखिन थालेका छन्।

हामीले बुझ्नुपर्ने कुरा के छ भने यस्ता खालका तनावपूर्ण अवस्थामा बालबालिकाले आफ्ना अभिभावक, शिक्षकशिक्षिका वा आफूभन्दा ठूला व्यक्तिहरूबाट सल्लाह लिने वा सिक्ने गर्छन्। अभिभावक नै धेरै आत्तिएपछि बालबालिकामा चिन्ता तथा अन्योल स्वाभाविक रूपमा बढ्छ।

कोभिड १९ बाट आफ्ना बालबालिका एवं विद्यार्थीलाई सुरक्षित राख्न विद्यालयले कोसिस जारी राखेका छन् भन्ने आश्वासन दिँदा पनि उनीहरूका मनका चिन्ता अलि कम हुन सक्छन्। बालबालिकाको एउटा तहसम्मको चासोको उपयुक्त रूपमा सम्बोधन गर्दा उनीहरूको आत्तिने समस्या कम हुन्छ। उनीहरूलाई आफ्नो भावना व्यक्त गर्न लगाएर, उनीहरूले बुझेका कुरालाई तनावमुक्त विषयमा रूपान्तरण पनि गर्न सकिन्छ। यस्तो बेलामा बालबालिकालाई आफ्ना विचार र डर व्यक्त गर्न अरू समयमा भन्दा बढी समय दिने तथा उनीहरूका कुरा ध्यान दिएर सुन्दा उनीहरूमा तनाव कम हुने गर्छ।

कुनै पनि महामारीको समयमा एउटा विशेष समुदायलाई दोष देखाउने मानवीय स्वभाव हुन्छ। दोषयुक्त हल्का खालका टिप्पणीले बालबालिकाको कलिलो मस्तिष्कमा त्यो समुदायप्रति नकारात्मक धारणा बन्न जाने पनि हुन्छ, जसको असर दूरगामी हुने गर्छ। त्यसैले बालबालिकाको अगाडि कसरी यस्तो समयमा प्रस्तुत हुने कस्ता खालका धारणा बनाउने भन्ने ठूलो भूमिका अभिभावक तथा शिक्षकशिक्षिकाको हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्