जीतपुरसिमरामा निर्वाचित जनप्रतिनिधिले लिए सपथ


eShilalekh

९ जेष्ठ २०७९, सोमबार २१:३८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिले सोमबार सपथ ग्रहण गरेका छन् । उपमहानगरपालिकामा निर्वाचित नगर उपप्रमुखसहित वडाध्यक्ष र वडासदस्यले सपथ ग्रहण गरेका हुन् ।

उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख राजन पौडेलले उपप्रमुखसहित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका थिए । नगर प्रमुख पौडेलले आईतवार मुख्य निर्वाचन अधिकृतसंग सपथ लिएका थिए ।

सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, संविधान सभाका सदस्य जयराम दहाल, पूर्वमन्त्री कलावती पासवान, प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाको निवर्तमान नगर प्रमुख डा. कृष्ण पौडेललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, निवर्तमान जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निवर्तमान नगर प्रमुख डा. पौडेलले निर्वाचित नगर प्रमुख पौडेललाई कार्यालयको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बोल्दै निवर्तमान नगर प्रमुख डा. पौडेलले अघिल्लो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल चुनौतीका बीच अघि बढेको र अन्त्यसम्म आईपुग्दा केही काममा सफलता प्राप्त भएको बताए । पूर्वाधारका हिसाबले कमजोर रहेको उपमहानगरपालिकामा ऐन निर्माणलगायत थुप्रै काम गरिएको पौडेलको भनाई थियो ।

कार्यक्रममा नगर प्रमुख पौडेलले उपमहानगरपालिको समग्र विकास र जनचाहना अनुरुप काम गर्ने बताए । यसैगरी उपप्रमुख अधिकारीले अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले गरेका कामलाई निरन्तरता दिदै जीतपुरसिमरालाई उत्कृष्ट नगरको रुपमा विकास गर्ने गरी अघि बढ्ने बताएका छन् ।

नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्