शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कडा बन्न बाराका प्रजिअ अधिकारीको निर्देशन

सिमराः बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षालाई थप बलियो र प्रभावकारी बनाउन प्रहरीलाई कडा निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्दै उनले नागरिकको सुरक्षामा कुनै पनि हालतमा सम्झौता नगर्न निर्देशन दिएका हुन् ।
भदौ २४ गते सरुवा भएर बारा आएका प्रजिअ अधिकारीले निरीक्षणपछि प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न आग्रह गरे । उनले कुनै पनि प्रलोभन, दबाब वा पूर्वाग्रहमा नपरी कानूनको पालना गराउन निर्देशन दिए । नागरिकसँग बोल्दा र व्यवहार गर्दा सधैं नम्र र सभ्य हुन तर कानून लागू गर्ने विषयमा कडा रूपमा प्रस्तुत हुन उनको निर्देशन रहेको थियो ।
कुनै प्रहरी अधिकारी वा कर्मचारीले गलत आचरण देखाएमा वा अनुशासनहीन काम गरेमा तुरुन्तै कडा कारबाही गरिने चेतावनीसमेत उनले दिए । प्रजिअ अधिकारीले महिला, बालबालिका तथा वृद्धवृद्धामाथि हुने हिंसाका घटनामा कुनै पनि प्रकारको सम्झौता नगरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । घरेलु हिंसा, बालविवाह, बहुविवाह, अन्धविश्वास र लागूऔधष जस्ता सामाजिक विकृतिविरुद्ध चेतनामूलक कार्यक्रमहरू चलाउन उनले आग्रह गरेका छन् ।
चाडपर्वहरूलाई लक्षित गरी बनाइएको ‘हाम्रो सुरक्षा योजना २०८३’ लाई पूर्ण रूपमा लागू गर्न, फरार अपराधी पक्राउ गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न उनले प्रहरीलाई निर्देशन दिएका छन् । सीमा क्षेत्रमा हुने चोरीतस्करी, वनजंगल तथा नदीजन्य पदार्थको अवैध दोहन रोक्न सशस्त्र प्रहरीसँग समन्वय गरेर अघि बढ्न उनले जोड दिए । यसबाहेक सवारी साधनको तीव्र गति, ओभरलोड, जुवातास, अवैध मदिरा र लागूऔषध बिक्रीवितरण नियन्त्रण गर्न प्रहरीलाई पूर्ण रूपमा सक्रिय हुन उनको निर्देशन थियो ।
कार्यक्रममा बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाबारे प्रजिअ अधिकारीलाई जानकारी गराएका थिए । निरीक्षणमा बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टलगायत प्रहरी अधिकारी, कर्मचारीको उपस्थिति रहेको थियो ।







