चन्द्रा, प्रतीक्षा र सुक्रियाको ह्याट्रिकसँगै आर्मी जीतपुरसिमरा महिला फूटबलको फाइनलमा

सिमरा: जीतपुरसिमरा महिला फूटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फराकिलो जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको छ । सिमरा रंगशालामा बुधबार राति सम्पन्न खेलमा आयोजक सिमरा भेट्रान क्लबविरुद्ध गोल वर्षा गर्दै आर्मीले १५-० को फराकिलो जित निकालेको हो ।
आर्मीको जितमा चन्द्रा भण्डारी, प्रतीक्षा ठकुरी र सुक्रिया मियाले ह्याट्रिक प्रहार गरे । खेलको सुरुवातदेखि नै आयोजक टोलीमाथि हाबी भएको आर्मीका लागि पहिलो हाफमा चन्द्रा भण्डारीले चार गोलसहित ह्याट्रिक पूरा गर्दा प्रतीक्षा ठकुरी र सुक्रिया मियाले दुई-दुई गोल गरेका थिए ।
दोस्रो हाफमा पनि आफ्नो आक्रामक लयलाई निरन्तरता दिँदै आर्मीले थप सात गोल थप्यो । दोस्रो हाफमा प्रतीक्षा ठकुरी र सुक्रिया मियाले एक-एक गोल थप्दै ह्याट्रिक पूरा गर्दा चन्द्रा भण्डारी र जेनिफर राना मगरले दुई-दुई र तुलसा बोहोराले एक गोल गरे ।
आर्मीकी चन्द्रा भण्डारी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसाद र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले संयुक्त रूपमा पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा बिहीवार साविक विजेता नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ।







